Saturday, January 31News That Matters

दोस्रो उदयपुर महोत्सव माघ २३ देखि हुने

पूर्णपुष्टि उदयपुर, माघ ५ ।
दोस्रो उदयपुर महोत्सव २०८२ माघ २३ गतेदेखि फागुन ८ गतेसम्म त्रियुगा नगरपालिका–३ त्रियुगा नदी किनारमा आयोजना हुने भएको छ । उदयपुर जिल्लाको कृषि, उद्योग, व्यापार, पर्यटन तथा संस्कृतिलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित महोत्सव हुन लागेको आयोजकले पत्रकार सम्मेलन गरी आज जानकारी दिएको हो ।

जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको आयोजनामा सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको जानकारी आयोजकले दिएको छ ।
“कृषि, वन, पर्यटन, शिक्षा, कला, संस्कृति, उद्योग र व्यापार उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मूल नारासहित आयोजना गरिने महोत्सव केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई उदयपुर जिल्लासहित कोशी प्रदेशका किसान, उद्योगी, व्यवसायी, सहकारी, महिला तथा युवा उद्यमीका उत्पादनलाई एउटै थलोमा प्रदर्शन, प्रवर्द्धन र बजारीकरण गर्ने साझा मञ्च हुने बताइएको छ ।
१५ दिनसम्म चल्ने महोत्सवमा जम्मा २०० वटा स्टल रहनेछन् । जसमा कृषि तथा घरेलु उद्योग प्रदर्शनी, होटल तथा अटोमोबाइल स्टल, महिला तथा युवा उद्यमीका स्टल, पर्यटन प्रवर्द्धन कक्ष, शैक्षिक सामग्री तथा पुस्तक प्रदर्शनी र स्थानीय तथा जातीय खानाका परिकार समावेश हुनेछन् । आयोजकका अनुसार महोत्सव अवधिभर दैनिक करिब २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवका मुख्य आकर्षणमा टिन डान्स ट्यालेन्ट शो, सुपर ममी डान्स प्रतियोगिता, ताजमहल र लण्डन ब्रिजको झल्को दिने सेल्फी पार्क, अत्याधुनिक बाल उद्यान, जलपरी मनोरञ्जन, साथै स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारका सांस्कृतिक प्रस्तुति रहनेछन् । आयोजकका अनुसार बलिउड मेगा स्टार विनोद राठोडलगायत कलाकारहरूको प्रस्तुति पनि समावेश गरिनेछ ।
स्वास्थ्य सेवालाई समेत प्राथमिकता दिँदै न्यूरो अस्पताल विराटनगरको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । सुरक्षा व्यवस्थाका लागि सीसी क्यामेरा, स्वयंसेवक परिचालन, २४ सै घण्टा सुरक्षा गार्ड, एम्बुलेन्स, स्वास्थ्य सेवा, बीमा सुविधा तथा निःशुल्क वाइफाइको व्यवस्था गरिएको संघका अध्यक्ष गजेन्द्र भगवतले बताए ।