Saturday, May 16News That Matters

दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिता : सप्तरीलाई हराउँदै दमौटी सेमिफाईनलमा

पूर्णपुष्टि, कार्तिक ६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ४ बगाहामा जारी दोस्रो स्वर्गीय युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको चौथो खेलमा दमौटी फुटबल क्लब बिजयी भएको छ ।

मंगलबार बगाहाको खेल मैदानमा भएको खेलमा दमौटीले सप्तरीलाई २–० गोल अन्तरले हराएको हो । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको १८ औं मिनेटमा जर्सि नं. ११ का कप्तान पविन राईले हेडिङ मार्फत गोल गर्दै दमौटीलाई आग्रता दिलाएका थिए भने २५ औँ मिनेटमा जर्सि नं ७७ का प्रताप राईले दमौटीका लागी दोस्रो गोल गरे । यस खेलको म्यान अफ द म्याच दमौटीका जर्सि नं ७७ का खेलाडी प्रताप राई बने । उनले १ हजार नगद सहित फ्लेक्स र मेडल प्राप्त गरे ।

दमौटी फुटबल क्लब सेमिफाईनल प्रवेश गरेसँगै सेमिफाईनल पुग्ने चार वटै टिमको टुङ्गो लागेको छ । यस अघि सगरमाथा फुटबल क्लब राजावास, फ्युजन फुटबल क्लब बोक्से र बेल्टार एकता युवा क्लबले सेमिफाईनलमा स्थान बनाइसकेको छ । भोली (बुधबार) पहिलो सेमिफाईनल खेल सगरमाथा फुटबल क्लब राजावास विरुद्ध बेल्टार एकता युवा क्लब बिच हुनेछ । यस प्रतियोगिताको विजेता टिमले नगर रु. ५१ हजार र उपविजेताले ३१ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । स्व. कैलाश राई युवा फुटबल खेलाडीहरुमाझ लोकप्रिय थिए । फुटवलमा रुची राख्ने राईको कामको शिलशिलामा करेन्ट लागी मृत्यु भएको थियो । कार्यक्षेत्रमा करेन्ट लागेर मृत्यु भएपछि उनको सम्झनामा गत वर्षदेखि यो प्रतियोगिता आयोजना गरिँदै आएको छ ।