Thursday, May 7News That Matters

उदयपुरमा तिन महिनाको अवधिमा ६० जना फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, कार्तिक ७ । उदयपुरमा तिन महिनाको अवधिमा ६० जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर नाथ योगीको नेतृत्वमा फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियान अन्तर्गत ति फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरूबाट ५ वर्ष २ महिना २५ दिन कैद र १ करोड ८९ लाख १ सय रुपैयाँ जरिवाना बापतको राजस्व असुल भएको एसपी योगीले बताए । पक्राउ परेका सबै व्यक्तिहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत उदयपुर पेश गरिएको छ ।

पक्राउ परेकाहरूमध्ये सबैभन्दा बढी लागूऔषध मुद्दाका १४ जना रहेका छन् । त्यसैगरी कुटपिट (७), गाली बेइज्जती (६), सार्वजनिक अपराध (६), सवारी ज्यान (५), वन मुद्दा (५), चेक अनादर (४) लगायतका विभिन्न मुद्दामा फरार रहेका व्यक्तिहरू पक्राउ परेका छन् । अन्य मुद्दाहरूमा अभद्र व्यवहार, चोरी, डाँका, मानाचामल, ज्यान मार्ने उद्योग, भवितव्य ज्यान, जुवा, जारी र लेनदेन रहेका छन् । एसपी योगीका अनुसार अदालतको विभिन्न मितिको फैसला अनुसार फरार सूचीमा रहेका यी व्यक्तिहरूलाई विशेष खोजतलास गरी पक्राउ गरिएको हो ।