
पूर्णपुष्टि, साउन १२ । कैलालीको धनगढीस्थित नोभा अस्पतालमा एक युवकको मृत्युपछि उत्पन्न विवादले उग्र रूप लिएको छ। शुक्रबार कञ्चनपुर बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको मृत्यु भएपछि शनिबार बिहानदेखि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन्।
आफन्तहरूले अस्पतालको लापरबाहीका कारण नसिबको मृत्यु भएको आरोप लगाउँदै उपचारमा संलग्न चिकित्सकलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्तिको माग गरेका छन्। उनीहरूले मृतकको शव उठाउन अस्वीकार गरेका छन्।
अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले कम्तीमा ९ सेल अश्रुग्यास प्रहार गरेका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार ६ सेल नेपाल प्रहरी र ३ सेल सशस्त्र प्रहरीले प्रहार गरेका हुन्।
मृतकका मामा रामकृष्ण चौधरीले अस्पतालले समयमै अन्यत्र रेफर नगरेको र पैसा नतिर्दासम्म बिरामीलाई निकाल्न नदिएको आरोप लगाएका छन्। उनका अनुसार समयमै राम्रो अस्पतालमा पुर्याउन पाएको भए भान्जाको मृत्यु नहुने थियो।
प्रमुख जिल्ला अधिकारी मिश्रले सुरक्षाकर्मीले संयमता अपनाएको र अहिले वार्ताको प्रयास भइरहेको जानकारी दिएका छन्।
