
पूर्णपुष्टि, साउन १२ । जनकपुर–जयनगर रेल्वे लिकमा परेर एक युवकको दुवै खुट्टा गुमेको छ। शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका जनकनन्दनी गाउँपालिका–३ महुवाका अन्दाजी ३५ वर्षीय श्रीराम दासको दुवै खुट्टा काटिएको हो।
रेल्वे विभागका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता दयाराम पौडेलका अनुसार, जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि रेलको लिक छेउबाट हिँडिरहेका दास अलमलिएर रेलकै लिकमा परेका थिए। रेलको लिक छेउबाट हिँड्ने बाटो रहेको र दास त्यही बाटोबाट हिँडिरहेका बेला यो दुर्घटना भएको डिएसपी पौडेलले बताए । घटनापछि तत्काल घाइते दासलाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ। रेल्वे विभागले यात्रुहरूलाई रेल्वे लिक वरपर सावधानी अपनाउन अपिल गरेको छ।
