Friday, July 17News That Matters

धरहराको १० औं तलाको काम सकियो

पूर्णपुष्टि, असार ३०

धरहराको १० औँ तला ढलानपछि रोकिएको टावर निर्माणको काम २/३ दिनमा सुरु हुने भएको छ । लकडाउनका बेला धरहरामा टावरबाहेक अरु काम हुँदै आएकोमा करिब साढे ३ महिनापछि टावरको काम सुरु हुने भएको हो ।

टावर निर्माणको काम गर्ने कामदारलाई अहिले क्वरेण्टीनमा राखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । लकडाउनका बेला घर गएका १ सय १० जना कामदार अहिले काठमाण्डौ आएका छन् । उनीहरुको आज पीसीआर परीक्षण गर्ने तयारी छ । उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मात्रै धरहराको ११ तलाको काम सुरु हुनेछ ।

धरहराको १० औं तलाको काम भने यसअघि नै सकिएको छ । धरहराको ३९ प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ । १० औँ तलाको काम सकिएको धरहरामा अहिले पार्किङस्थलको काम भइरहेको र दैनिक ४० जना कामदारले काम गरिरहेका छन् ।

धरहरामा अवलोकन कक्षका साथै म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्ट, अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति सभापति सहितको टोलीले हिजो धरहरा सहित रानीपोखरी र काष्ठमण्डप पुनःनिर्माणको स्थलगत अवलोकन समेत गरेको छ ।

समितिका सभापति कल्याणीकुमारी खड्का सहितको टोलीले तीनवटै सम्पदाको स्थलगत अवलोकन गरी सन्तोषजनक रुपमा काम भइरहेको प्रतिक्रिया दिएको छ । अवलोकनपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सभाहलमा समिति सदस्यहरुले प्रवलीकरण भइरहेको मुख्य प्रशासनिक भवन सिंहदरबारको पछिल्लो अवस्थाबारे पनि जानकारी लिनुभएको थियो ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अवलम्बन गर्दै धरहरा, रानीपोखरी, सिंहदरबार लगायतमा पुनर्निर्माणका कार्यहरु अघि बढाएको जनाईएको छ । यसअघि संघीय संसदको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिले पनि धरहरा र रानीपोखरीको अवलोकन गरेको थियो ।