
असोज ५
आज धरानमा २ कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा–४ की ४९ वर्षीया एक महिला र झापाको मेचीनगर–८ की ७२ वर्षीया वृद्धा छन् ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनिहरुको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार ४९ वर्षीया महिलाको सोमबार बिहान ५ बजे र ७२ वर्षीया वृद्धाको आइतबार राति ९ः२० बजेको समयमा मृत्यु भएको हो ।

झापाको मेचीनगरकी ७२ वर्षीया वृद्धामा भने श्वासको समस्या सँगै छाती दुख्ने, शरीरमा कमजोरी र निमोनियाको लक्षण देखा परेर असोज ४ गते प्रतिष्ठानमा भर्ना भएकी थिइन् । स्वास्थ्यमा थप समस्या देखिएपछि झापास्थित कन्काई अस्पतालले उनलाई धरान रेफर गरेको थियो । सोही दिन प्रतिष्ठानको ल्याबमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको डा. सापकोटाले बताए ।

४९ वर्षीया महिला उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्याका कारण प्रतिष्ठानको मेडिसिन वार्डमा भदौ ३० गते भर्ना भएकी थिइन् । मेडिसिन वार्डमा भर्ना भएकै समयमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा असोज १ गते उनको रिपोर्ट पोजेटिभ आएको डा. सापकोटाले बताए । कोरोना देखिएपछि सोही दिन उनलाई प्रतिष्ठानकै कोभिड अस्पतालको आइसोलेसनमा सारिएको थियो । उनले नियमित डायलासिस समेत गराउँदै आइरहेकी थिइन् ।

