Tuesday, June 9News That Matters

धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा दुई युवा पक्राउ

पूर्णपुष्टि,चैत ११

होटलमा खाजा खाने क्रममा साथी–साथीबीच झगडा हुँदा आफ्नै साथीलाई धारीलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा काठमाडौंका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

झापा दमक नगरपालिका–४ घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ विष्णुदेवी बस्ने ३० वर्षीय पदम खड्कालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा चन्द्रागिरी नगरपालिका–१५ विष्णुदेवी टुसाल चोकका ३७ वर्षीय प्रभुकृष्ण थापा र २३ वर्षीय दिवाकर महर्जनलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रभुकृष्ण र दिवाकरले पदमलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रहरीको भनाइ छ । त्यसपछि महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले प्रभुकृष्ण र दिवाकरलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते भएका पदमलाई उपचारका लागि ओम समाज अस्पताल लगिएकोमा थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल थापाथली रिफर गरिएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।