Monday, April 20News That Matters

धुर्मुस सुन्तली फाउण्डेसनले गौतमबुद्ध रंगशालामा ६० करोडको काम गरेको सरकारी मूल्यांकन रिपोर्ट

पूर्णपुष्टि, कार्तिक २४ । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा धुर्मुस सुन्तली फाउण्डेसनले करिब ६० करोड रुपैयाँ बराबरको काम गरेको सरकारी मूल्यांकन रिपोर्टले देखाएको छ ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ कलेजले गरेको प्राविधिक जाँचअनुसार फाउण्डेसनले भ्याटसहित ५९ करोड ९० लाख १ हजार ८ सय ६६ रुपैयाँको काम गरेको पाइएको छ । यो रिपोर्ट भरतपुर महानगरपालिकामा पेश गरिएको छ ।

सहायक डीन डा. इन्जिनियर सुरज लामिछानेको नेतृत्वमा रहेको मूल्यांकन समितिले यो रिपोर्ट तयार गरेको हो । समितिमा इन्जिनियर नारायणप्रसाद गौतम र इन्जिनियर शिव काफ्ले सदस्य रहेका थिए ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत फाउण्डेसनले गरेको कामको ऋण र उधारो तिर्न प्राविधिक मूल्यांकन गर्ने घोषणा गरेको थियो । यही अनुसार गत भदौ १६ गते इन्जिनियरिङ कलेज, महानगरपालिका र फाउण्डेसनबीच त्रिपक्षीय समझदारी भएको थियो ।

कलेजको रिपोर्टमा फाउण्डेसन गैरनाफामूलक संस्था भएकाले अन्य कम्पनीले पाउने १५ प्रतिशत ओभरहेड रकम प्रदान नगरिएको उल्लेख छ । तर कार्यालय सञ्चालन, कर्मचारी र अन्य खर्चका लागि ४ प्रतिशत रकम जोडिएको छ ।

रिपोर्टमा केही खर्च समावेश नगरिएको पनि उल्लेख छ । नमूना मैदानको कालोमाटो ढुवानीमा २३ लाख ७४ हजार, दुबो रोप्न ३९ लाख ३७ हजार ९ सय ४७ रुपैयाँ तथा मौज्दात निर्माण सामग्रीको २ करोड ४६ लाख २१ हजार रुपैयाँ रिपोर्टमा जोडिएको छैन ।

भुक्तानीको तयारी

सरकारले चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकम कोष तथा लेखा नियन्त्रक कार्यालयबाट महानगरपालिकामा पुगिसकेको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले रिपोर्ट अध्ययन गरेर भुक्तानीको प्रक्रिया सुरु गर्ने बताएका छन् । अर्थ मन्त्रालयसँग केही विषय स्पष्ट गरेपछि रकम दिने काम अघि बढाइने उनले जानकारी दिए ।

ऋण र उधारोको स्थिति

महानगरको लेखा परीक्षणअनुसार रंगशाला निर्माणमा कुल ५७ करोड ९२ लाख ८५ हजार रुपैयाँ खर्च भएको छ । यसमध्ये ३९ करोड ८० लाख ३८ हजार रुपैयाँ नगद खर्च भएको र १८ करोड ४३ लाख रुपैयाँ उधारोमा लिएर काम गरिएको देखिन्छ ।

फाउण्डेसनले १८ करोड ४३ लाख रुपैयाँ तिर्नुपर्ने भए पनि सरकारले १५ करोड रुपैयाँ मात्र छुट्टाएको छ । यसमध्ये १ करोड ८४ लाख ९७ हजार रुपैयाँ विभिन्न संघसंस्था तथा व्यक्तिबाट लिइएको ऋण छ भने १६ करोड ५८ लाख रुपैयाँ विभिन्न पक्षलाई भुक्तानी दिन बाँकी छ ।

सबैभन्दा बढी चितवन रेडिमिक्सको झण्डै ३ करोड ४७ लाख २६ हजार रुपैयाँ बाँकी छ । यस्तै हामा स्टिललाई २ करोड २ लाख, जगदम्बा इन्टरप्राइजेजलाई २ करोड ३५ लाख र विशेष एण्ड को प्राइभेट लिमिटेडलाई २ करोड १५ लाख रुपैयाँ तिर्नुपर्ने छ । केही सप्लायर्सले रकम नपाएको भन्दै अदालतमा मुद्दा दायर गरिसकेका छन् ।

आम्दानी र खर्च

रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले ८ करोड ५ लाख, अन्य सरकारी निकायबाट ११ करोड ७४ लाख, मेची महाकाली अभियानबाट १ करोड ९ लाख, महायज्ञबाट ९ करोड ४१ लाख, व्यक्तिगत सहयोग ६ करोड ६९ लाख र संस्थागत सहयोग ४ करोड ५० लाख रुपैयाँ प्राप्त भएको थियो ।

खर्चतर्फ निर्माण सामग्रीमा ४९ करोड ६० लाख, अन्य सामग्रीमा २ करोड २२ लाख, डिजाइन र परामर्शमा २ करोड ५४ लाख तथा निर्माण व्यवस्थापनमा ३ करोड ४२ लाख रुपैयाँ खर्च भएको देखिन्छ ।

बहु अडिट

रंगशालाको हालसम्म ६ वटा निकायले अडिट तथा प्राविधिक मूल्यांकन गरिसकेका छन् । फाउण्डेसन, महानगरपालिका, सघन सहरी तथा भवन निर्माण आयोजना, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास र राष्ट्रिय सतर्कता केन्द्रले अलगअलग मूल्यांकन गरेका हुन्। पुल्चोक इन्जिनियरिङ कलेजको यो छैटौं मूल्यांकन हो  ।

सघन सहरी तथा भवन निर्माण आयोजनाको प्रतिवेदनमा ६३ करोड २२ लाख ५ हजार २ सय ८० रुपैयाँ बराबरको काम भएको उल्लेख छ ।

निर्माण रोकिएको थियो

रकम अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट रंगशालाको काम पूर्णरूपमा रोकिएको थियो । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० विगाहा १९ कट्ठा जग्गामा निर्माण थालिएको रंगशालाको ३९ प्रतिशत काम सकिएपछि बजेट अभाव भएको भन्दै निर्माण रोकिएको थियो ।

३० हजार दर्शक क्षमताको रंगशालाको ३ हजार दर्शक बस्न मिल्ने प्याराफिट फाउण्डेसनले बनाएको थियो । थप निर्माणमा स्रोत जुटाउन नसकेपछि फाउण्डेसनले २०७८ पुस २ गते महानगरपालिकालाई स्वामित्व लिन अनुरोध गरेको थियो । हाल महानगरपालिकाले स्वामित्व लिएर ठेक्का प्रक्रियामार्फत थप काम गरिरहेको छ ।