
पूर्णपुष्टि, कार्तिक १२
नक्कली भारतीय तथा नेपाली नोट छापेको अभियोगमा महोत्तीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका गौशाला नगरपालिका–९ डुमरवाना घर भइ सोही नगरपालिकाको वडा–५ गौशाला बजारस्थित महावीर दासको घरमा कोठा लिएर बस्दै आएका ४४ वर्षीय सुकन महतो पक्राउ परेको हो ।
महतोलाई नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित विभिन्न दरका नेपाली र भारतीय नोट छापेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उनको साथबाट तयारी तथा कटिङ नगरेको नक्कली विभिन्न दरको ८ लाख ८२ हजार ४ सय २० नेपाली नोट र विभिन्न दरको कटिङ गरिएको नक्कली २ लाख ७७ हजार ९ सय ७० भारतीय रुपैयाँ महतोको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै उनको साथबाट विभिन्न दरको नेपाली सक्कली नोट ५ हजार ७०, भारु २६ समेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार काठको ट्रेस फर्मा २ थान, रबर स्टाम्प १ थान र कैंची समेत बरामद भएको छ ।
पक्राउ परेका उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
