
पूर्णपुष्टि, बैशाख १९ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वगृहमन्त्री ‘बादल’ का सल्लाहकार इन्द्रजित राई रहेका छन् । २०७४ फागुनपछि केपी शर्मा ओलीको नेतृत्वको सरकारमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुदाँ इन्द्रजित राई उनका सल्लाहकार थिए।
राईलाई मंगलबार बिहान सादा पोशाकमा खटिएको प्रहरीको टोलीले ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको पनि संलग्नता देखिएकाले ललितपुर प्रहरीसँग समन्वय गरेर उनलाई पक्राउ गरिएको हो ।
यसअघि दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार उनीहरूले विभिन्न प्रलोभन देखाएर र विश्वासमा पारेर ५० जनाभन्दा बढी मानिसबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेकामध्ये दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला उनको निजी सचिवालयमा काम गर्थे ।
