
पूर्णपुष्टि, बैशाख १९ । एसीसी मेन्स प्रिमियर कपको फाईनल खेलमा युएईलाई हराउँदै नेपाल एसीया कपमा छनोट भएको छ । टस हारेर ब्याटिङ गरेको युएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार बर्षाको कारण रोकिएको खेलमा मंगलबार युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपाल च्याम्पियन बनेसँगै आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा खेल्नेछ ।
नेपालका लागी गुल्सन झाले अर्धशतक पुरा गरेका छन् । उनले ८३ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ६६ बनाएका थिए भने भिम सार्कीले ७२ बलमा ३६ रन बनाए । गुल्सन र भिमले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरे ।
त्यसअघि नेपालका दुवै ओपनरसहित कप्तान रोहित पौडेल आउट भए। कप्तान रोहितलाई १ रनमा रोहान मुस्ताफाले शून्यमा बोल्ड गरे भने विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई ८ रनमा युएईका आयान खानले एलबिडब्लू आउट गरे । ओपनर कुशल भुर्तेललाई १.२ ओभरमा युएईका मुस्ताफाले १ रनमा एलबिडब्लूकै धरापमा पारे।
