
पूर्णपुष्टि, जेष्ठ ३२ । क्रोएसिया नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा घरेलु टिम नेदरल्यान्ड्सलाई २–४ गोलको हराउँदै क्रोएसियाले फाईनलमा स्थान बनाएको हो ।
ब्रुनो पेटकोभिच र लुका मोडरिचले अतिरिक्त समयमा गोल गरेपछि क्रोएसिया उपाधि नजिक पुगेको हो । डे कुइप स्टेडियममा भएको खेलको ३४ औं मिनेटमा डोनयाल मालेनले गोल गर्दै नेदरल्याण्डलाई आग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा क्रोएसियाका आन्द्रे क्रमारिचले पेनाल्टीमा बराबरी गोल फर्काए भने ७२ औं मिनेटमा मारियो पासालिचले गोल गरेपछि क्रोएसियाले २–१ को अग्रता लिएको थियो ।
खेलको इन्जुरी टाइममा नेदरल्याण्ड्सका नोया लाङले गोल गरेपछि खेल २–२ को रोमाञ्चक स्थितिमा पुगेको थियो । तर, एक्स्ट्रा थप गरिएको समयको ९८ औं मिनेटमा पेटकोभिचले र ११६ औ मिनेटमा मोडरिचले गोल गरेपछि क्रोएसियाले जित हात पारेको हो । अब आईतबार क्रोएसियाले स्पेन र इटलीबिचको दोस्रो सेमिफाईनलको विजेतासँग उपाधिको लागी प्रतिष्पर्धा गर्नेछ ।
