Tuesday, June 9News That Matters

नेपालबाट ५ खेलाडीले विश्व मुवाँथाइ च्याम्पियनसिपमा भाग लिने

पूर्णपुष्टि, फागुन १० गते । थाईल्यान्डको बैंककमा हुने १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा नेपालबाट ५ जना खेलाडी सहभागि हुने भएका छन् । सो च्याम्पियनसिप फागुन २८ देखि चैत ६ गतेसम्म हुने भएको छ । सो प्रतियोगितामा पुरुष ५७ केजीमा गुणराज रुचाल, ५४ केजीमा पूर्णजित राई, ७१ केजीमा नवराज पराजुली र ५१ केजीमा सञ्जय राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन् भने महिला ४८ केजीमा डेनिका राईले खेल्ने छिन् ।

प्रशिक्षकमा गणेशलाल कक्षपति तथा व्यवस्थापकमा निलम अधिकारी छन् । गुणराज, पूर्णजित र नवराज प्रशिक्षणमा पनि सहभागी हुने भएकाले बुधबारै बैंकक प्रस्थान गरिसकेका छन् । बाँकी टोली पछि जाने छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे । नेपाल राष्ट्रिय मुवाथाइ संघका अनुसार हाल सम्म नेपालले उक्त च्याम्पियनसिप संकरणमा १ स्वर्ण, १ रजत र ७ कांस्य पदक जितेको छ ।