
पूर्णपुष्टि, साउन ६
विश्वकै दुर्लभ मानिने चराहरु नेपालमा फेला परेको छ । पक्षी संरक्षण संघका केन्द्रीय सदस्य गोविन्द सिंहले विश्वमै दुर्लभ मानिएका चराहरु जाजरकोटको बारेकोट गाउँपालिकाका विभिन्न ठाउँमा फेला परेको बताए ।
सिंहका अनुसार विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रियस्तरमा लोपोन्मुख हिमाली गिद्ध, संकटोन्मुख वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय नियन्त्रण सन्धिको अनुसूची (आइआइ)मा सूचीकृत कालो चिल, कालिज, काकाकुल, लोभीपापी गरुड तथा कर्रासुगा फेला परेका छन् ।
यसअघि जाजरकोटको भेरी नगरपालिका, बाँकेको चिसापानी र सुर्खेत सिम्तामा लोभीपापी गरुड फेला परेका थिए । सामान्यतया समुद्री सतहभन्दा ९ सय १५ मिटरभन्दा कम उचाइको भूभागमा पाइने लोभीपापी गरुड बारेकोटमा भने एक हजार ६ सय मिटरको उचाइमा भेटिएको सिंहले बताए । धेरै उचाइमा समेत लोभीपापी गरुड भेटिन थालेपछि अध्येताहरूका लागि चासोको विषय हुनसक्ने उनको भनाइ छ ।
लवायु परिवर्तनका कारण विस्तारै यी पक्षी लेकतिर बसाइँ सर्ने गरेको चराविद्को भनाइ छ । बारेकोट जुम्लासँग सिमाना जोडिएको गाउँपालिका हो । यो अग्ला सिमल र सालको रूखमा बस्ने र गुँड लगाउने गर्छ । रूख फँडानी गर्दा गिद्धलगायत यी पक्षीलाई असर परेको छ । अर्को समस्या भनेको बालीनालीमा विषादी हालेर मुसा मार्दा यसले खाएर पनि मर्ने गरेको उनको भनाइ छ । मानवीय क्रियाकलापकै कारण यो दुलर्भ पक्षी लोप हुने अवस्थामा पुगेको छ ।
