Tuesday, July 28News That Matters

नेपाली खेलाडीहरुले दक्षिण कोरियामा ‘ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता–२०२६’ आयोजना गर्दै

पूर्णपुष्टि/सोल (दक्षिण कोरिया), साउन १२ ।

बैदेशिक राेजगारीकाे सिलसिलामा दक्षिण कोरियामा रहेका नेपाली समुदायका ब्याडमिन्टन खेलाडीहरुबीच ब्याडमिन्टन प्रतियाेगिता भब्यरुपले हुने भएकाे छ । खेलकुदमार्फत एकता, स्वास्थ्य र आपसी सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता–२०२६’ आयोजना हुने भएकाे हाे । नेपाली ब्याडमिन्टन कमिटी दक्षिण कोरिया (स्थापना–२०२२) को आयोजनामा २०२६ अगस्ट १६ (आइतबार) ग्योङ्गी–दोको ओसान–सी, याङ्सान–म्योनस्थित याङ्सान इनडोर जिम्नेसियम मा प्रतियाेगिता सञ्चालन हुने आयोजक कमिटिका उपाध्यक्ष निकेश आले मगरले बताउनुभयाे ।
प्रतियोगितामा पुरुषतर्फ A, B र C लेभल डबल्स तथा महिलातर्फ खुला डबल्स विधामा प्रतिस्पर्धा गराइनेछ । पुरुषतर्फ टोली दर्ता शुल्क ₩100,000 (लगभग नेपाली दश हजार पाँचसय रुपैया) निर्धारण गरिएको छ भने महिला खुला डबल्समा निःशुल्क सहभागिता रहनेछ । टोली दर्ताको अन्तिम मिति २०२६ अगस्ट ११ तोकिएको छ ।
पुरुषतर्फ A, B र C लेभलका विजेता टोलीले ₩500,000 (नेपाली करिव ५२ हजार पाँचसय रुपैया), उपविजेताले ₩300,000 (नेपाली करिव ३१ हजार पाँचसय रुपैया) तथा तेस्रो हुने टोलीले ₩150,000 (नेपाली करिव १५ हजार आठसय रुपैया) नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिला खुला डबल्सतर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक भेटघाट रेष्टुरेन्ट, सुवन रहेको छ। त्यसैगरी Hana Bank Remittance Partner बैंकिङ पार्टनर, Hanpass सेभिङ पार्टनर, The Nice Car Global अटोमोबाइल तथा इन्स्योरेन्स पार्टनर, AKS Sports Collection Korea स्पोर्ट्स पार्टनर, Nepal Himalayan Restaurant, Rajmahal RestaurantMt. Everest Restaurant रेष्टुरेन्ट पार्टनर तथा Namaste Travel & Tourism ट्राभल पार्टनरका रूपमा सहकार्य गरेका छन् ।
आयोजकका अनुसार प्रतियोगिताले दक्षिण कोरियामा रहेका नेपाली खेलाडी तथा खेलप्रेमीलाई एउटै मञ्चमा जोड्दै खेल भावना, मित्रता र सामाजिक एकतालाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । नेपाल ब्याडमिन्टन कमिटी दक्षिण कोरियाका उपाध्यक्ष तथा खेल संयोजक निकेश आले ले समयमै टोली दर्ता गरी प्रतियोगितामा सहभागी हुन सम्पूर्ण नेपाली खेलाडी तथा खेलप्रेमीलाई आग्रह गरेका छन् ।
“शक्ति हाम्रो एकता, गौरव हाम्रो नेपाल!” भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगितामा आफ्नो प्रतिभा प्रदर्शन गर्ने यो सुनौलो अवसर भएकाले इच्छुक खेलाडीहरूले तोकिएको समयभित्र टोली दर्ता गराउन आयोजकले अनुरोध गरेको छ ।