
पूर्णपुष्टि, असोज ३०
आरोहणको जारी सिजनमा नेपाली टोलीले बरुन्त्से हिमालको सफल आरोहण गरेको छ । दावा स्टेभन शेर्पा नेतृत्वमा ७ जनाले बिहीबार बरुन्त्से हिमाल सफल आरोहण गरेका हुन् ।
खुम्बु क्षेत्रमा पर्ने बरुन्त्से हिमाल ७ हजार १ सय २९ मिटर अग्लो छ । सो हिमाल आरोहण गर्न ३६ वर्षीय शेर्पा नेतृत्वको टोली गत भदौ २१ गते प्रस्थान गरेको पर्यटन बिभागले जनाएको छ । आरोहणको व्यवस्थापन एसियन ट्रेकिङ प्रालिले मिलाएको थियो ।
जारी सिजनमा यो दोस्रो र नेपाली टोलीबाट भएको पहिलो सफल आरोहण हो । यस वर्षको आरोहण सिजनमा पहिलो सफल आरोहण बहराइनका राजकुमार मोहमद हमद मोहमद अल खलिफासहितको टोलीले गरेको थियो ।
बहराइनको टोलीले १७ असोजमा लोबुचे हिमाल आरोहण गरेको थियो । सोही टोलीले २९ असोजमा मनास्लु हिमाल पनि आरोहण गरेको थियो ।|

