
पूर्णपुष्टि, असार ४ गते ।
नेपाली भूमी कालापानीबाट भारतीय सैनिक क्याम्प हटाउनु पर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले बताएको छ ।
आज बसेको राष्ट्रियसभाको बैठकमा नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुनभएका नेता श्रेष्ठले भन्नुभयो, “कालापानी, लिपुलेक, लिम्पयाधुरा हाम्रो हो हामीलाई प्राप्त हुनुपर्छ ।
नेपाली भूभागमा बसेको भारतको सैनिक, प्रहरी, सुरक्षाकर्मीहरु सबै फिर्ता जानुपर्छ । र त्यस प्रकारको क्याम्पहरु त्यहाँबाट बन्द गरिनुपर्छ भन्ने हाम्रो दृढ अडान हो श्रेष्ठले भन्नुभयो ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रका विषयमा देखिएका समस्या समाधान गर्ने उपाय वार्ता र संवाद नै भएकाले भारत वार्तामा बस्न तयार हुनुपर्ने श्रेष्ठले बतउनुभयो ।
बार्तामा बस्न बारमबार भारतलाई भने पनि विभिन्न बहानामा पन्छि रहेको छ । हामी वार्तामा बस्न आतुर छौं र लगातार प्रयत्न गरिरहेका छौं नेता श्रेष्ठले भन्नुभयो ।
१८१६ को सुगौली सन्धिमा काली नदीको पश्चिमको भूभाग अंग्रेजलाई छोड्ने भनेको, नोभेम्बर १९१९ मा भारतले प्रकाशित गरेको नक्सामा २ देशबीचको सीमा काली नदी देखाइएको र नेपालको कुनै पनि शासकले सुगौलि सन्धिपछि कुनै सन्धि वा सम्झौता गरेर भारतलाई जमिन हस्तान्तरण नगरेको भन्नुहुदै श्रेष्ठले यी आधार नै लिम्पियाधुरा नेपालकै भएको प्रमाणको रुपमा उल्लेख गर्नुभयो ।
सत्तारुढ नेकपाका प्रवक्ता समेत रहनुभएका नेता श्रेष्ठले नेपालकै राजनीतिक दलहरुलाई लिम्पियाधुराको मुल मुद्धालाई ओझेलमा पार्ने गरी अन्य विषयलाई अगाडि नल्याउन आग्रह गर्नुभयो ।
यतिखेर हेर्नुपर्ने मुख्य मुद्धा भनेको यो भूमि भारतले कब्जा गरेको हो ।, यो भूमि फिर्ता लिइछाड्नुपर्छ भन्ने हो । यो मुद्धामा हिजो कहाँ कसको कमजोरी भयो भन्ने बारेमा वा राष्ट्रियताको अरु विषयमा पनि सन्दर्भबश चर्चा गर्नु एउटा कुरा हो । तर, यसैलाई मुद्धा बनाएर, आफैँलाई आरोप प्रत्यारोप गर्नेमा लाग्नु हुँदैन’ उहाँले भन्नुभयो ।
