
पूर्णपुष्टि, भाद्र ३० । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा खोल्ने भएको छ। भदौ १६ गते सोमबारदेखि सञ्चालनमा आउने यो शाखा दुर्गम क्षेत्रका जनतालाई लक्षित गरी खोलिएको हो।
उदयपुरको कटारी नगरपालिकामा पर्ने यस शाखाबाट लिम्पटार, हर्देनी, सोरुङ्गछविसे, मयांखु र लेखानी गरी पाँच वडाका २० हजारभन्दा बढी सर्वसाधारणले प्रत्यक्ष लाभ लिन सक्नेछन्। साथै, उदयपुरका अतिरिक्त सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु र खोटाङका जनताले पनि यस शाखाबाट अत्याधुनिक वित्तीय सेवा पाउने अवसर पाउनेछन्।
बैंकका अनुसार, यस शाखाले ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका चार वडा, सिन्धुलीको फिक्कल गाउँपालिकाका तीन वडा र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका केही क्षेत्रलाई समेट्ने योजना बनाएको छ।
यस अघि कुनै पनि बैंकको शाखा नभएको घुर्मी बजारमा यो शाखा खुलेपछि तीन जिल्ला ( खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको नाका हुँदै दैनिक आवतजावत गर्ने करिब २५० साना(ठूला व्यापारीले पनि प्रत्यक्ष लाभ लिन सक्नेछन्।
त्यस क्षेत्रमा रहेका सडक डिभिजन कार्यालय, विद्यालय, पेट्रोल पम्प, होटल, होलसेल पसल, हार्डवेयर, प्रहरी चौकी र निजी कार्यालयहरूलाई पनि यस शाखाले सेवा प्रदान गर्नेछ। यसले गर्दा ती कार्यालयहरूलाई वित्तीय सेवाका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुनेछ। बैंकले ग्राहकको आवश्यकतालाई ध्यानमा राखी एटीएम लगायत सबै किसिमका अत्याधुनिक वित्तीय सेवा उपलब्ध गराउने जनाएको छ।
