Wednesday, April 22News That Matters

सहकारी ठगीमा रवि लामिछानेसहित ९ जनालाई दोषी ठहर गर्दै प्रतिवेदन तयार

पूर्णपुष्टि, भाद्र ३१ । संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछानेसहित ९ जनालाई दोषी ठहर गर्दै प्रतिवेदन तयार पारेको छ। समितिले १७ घण्टाको लामो छलफलपछि सोमबार बिहान सर्वसम्मतिले प्रतिवेदन पारित गरेको हो।

प्रतिवेदनमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीले दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको तथ्य उजागर गरिएको छ। यी तीनै जनाले सहकारीबाट गोर्खा मिडियामा आएको रकम चेक काटेर खर्च गरेको पाइएको छ।
समितिले लामिछानेले कम्पनीको प्रबन्ध निर्देशकका रूपमा विभिन्न कागजातमा हस्ताक्षर गरेको प्रमाण फेला पारेको छ। उनले कम्पनी रजिस्ट्रार कार्यालयमा १५ प्रतिशत सेयरका लागि रकम बुझाएको उल्लेख गरे पनि यो रकम सुप्रिम सहकारीबाट सारिएको खुलासा भएको छ। लामिछाने प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै ८० करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको तथ्य प्रतिवेदनमा उल्लेख छ। समितिले यस प्रकरणमा संलग्न ९ जनामाथि थप कारबाहीका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।

यद्यपि, केही सदस्यहरूले लामिछानेको नाम किटान नगर्न अडान लिएका थिए। तर अन्ततः प्राप्त प्रमाणका आधारमा सर्वसम्मत निर्णय भएको समितिका सदस्यहरूले बताएका छन्। समितिले मितेरी सहकारीको विषय कार्यादेशमा नभए पनि कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गर्न लेखी पठाउने निर्णय पनि गरेको छ। यो प्रतिवेदन सोमबार दिउँसो १ बजे सभामुखलाई बुझाइने तयारी छ।