
पूर्णपुष्टि, असोज १८
आज शेयर बजार परिसूचक नेप्से करीब १५ अङ्कले बढेको छ । नेप्से १४.७१ अङ्कले बढेर १५ सय ८५.७६ अङ्कमा पुगेको छ ।
जलविद्युत् र सामूहिक लगानी कोषबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेको छ । उत्पादन समूहको शेयर एक सय ४५ अङ्कले, जीवन बीमा समूहको ४५, निर्जीवन बीमा समूहको २४, विकास बैंकको २३ तथा बैंक र व्यापार समूहको शेयर १५ अङ्कका दरले बढेको छ ।
एक सय ९३ कम्पनीका एक करोड दुई लाख ७४ हजार कित्ता शेयर तीन अर्ब चार करोड ४१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको २६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
कर्पोरेट विकास बैंक, शिवम् सिमेन्ट र प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैले कमाएका छन् । तर समग्र शेयर बजार बढे पनि युनियन, दिव्येश्वरी र खानीखोला जलविद्युत् कम्पनीका शेयरधनीले नौ प्रतिशत भन्दा धेरैका दरले गुमाएका छन् ।

