
पूर्णपुष्टि/उदयपुर, मङ्सिर २५ ।
यसवर्षदेखि आजको दिनमा आदिबासी जनजाती दनुवार समुदायले आफ्नो जातीय पर्व न्वाङ्गी (नेमान) लाई मुख्य राष्ट्रिय पर्वको रुपमा मनाउन सुरु गरेको छ ।
दनुवार जागरण समितिले उदयपुरको त्रियुगा नगरपालिका –८ बैरेनीचौरमा न्वाङ्गी विशेष समारोहको आयोजना गरी हरेकवर्ष मङ्सिर २५ गतेका दिन न्वाङ्गी पर्व राष्ट्रियरुपमा मनाउने घोषणा गरेको दनुवार जागरण समिति उदयपुरका अध्यक्ष केदारकुमार दनुवारले बताउनुभयाे ।
कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले पहिलो राष्ट्रिय न्याङ्गी पर्वको उद्घाटन गरि दनुवार समुदायको न्याङ्गी पर्व राष्ट्रिय पर्वको रुपमा आजबाट अङ्कित भएको घोषणा गर्नुभयाे । त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले याे पर्वलाइ विशेष सम्मानका साथ पालिकाले ग्रहण गरेकाे बताउनुभयाे ।
गतवर्षको मङ्सिर २५ गते उदयपुरको गाईघाटमा सामुहिक न्वाङ्गी पुजासंगै पहिलो दनुवारी परिकार तथा सांस्कृतिक उत्सव सफल बनाएको दनुवार समुदायले यसवर्ष राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने र सधैभर मनाउने निर्णय गरेको थियो ।
त्रियुगा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजकुमार दनुवारका अनुसार दनृुवार समुदायमा नयाँ धानबाली घरमा भित्र्याएसंगै न्वाङ्गी पुजा गर्ने चलन छ । नयाँ चामल गुलियो र मसलेदार परिकारसंग मिसाएर आप्mनो कुददेवतालाई चढाउने र प्रसादीको रुपमा ग्रहण गर्ने चलन छ । आफ्नो छोरीचेली, नरनाता बोलाएर मिठो खाना परिकार खुवाउने र गाउँभरी प्रसाद वितरण गर्ने चलन छ । यसै चलनलाई स्थापित गर्दै आप्mनो पर्वको रुपमा मान्दै आएका दनुवार समुदाय देशैभरबाट एकत्रित भइ यसवर्षदेखि मुख्य राष्ट्रिय पर्वको रुपमा मनाउने घोषणा गरेको हो ।
पर्वको अवसरमा तीनदिने दोस्रो दनुवारी खाना परिकार तथा सांस्कृतिक उत्सवको आयोजना भएको छ । विहान सामुहिक न्वाङ्गी पुजा गरी मोटरसाईकल र्यालीसमेत गरेर पर्वको सन्देश छरेका थिए ।
कार्यक्रम स्थलमा देशका विभिन्न ठाउँका दनुवारी खाना परिकार, पहिरन, गरगहना प्रदर्शनी तथा विक्रीमा राखिएका छन् । साथै दनुवारी जातीय झाँकी, नृत्य तथा गायन प्रस्तुत गरिएका छन् ।
पर्वले दनुवार समुदायको ऐतिहासिक, सांस्कृतिक कुरालाई राष्ट्रिय महत्व तथा मौलिक कला, संस्कृति, पहिरन र खाना परिकारलाई पहिचान दिलाउने छ विश्वास उनीहरुको छ । नेपालको सांस्कृतिक विविधता, सामुदायिक सहअस्तित्व, एकता र पहिचानको प्रतिकको रुपमा पर्वलाई अगाडि सारिएको छ ।
यस पर्वलाई दनुवार समुदायको मुख्य पर्वको मान्यता दिदै दनुवारबस्ती रहेका त्रियुगा नगरपालिका र कटारी नगरपालिकाले स्थानीय विदा दिएको छ । 
