
पूर्णपुष्टि, असोज २४ । रौता स्पिङ वाटर प्रा.लि. (रौता खानेपानी) का सञ्चालक पर्शुराम चौधरीले पत्रकारहरु समक्ष माफी मागेका छन् । उनले पत्रकार माथि गरेको भौतिक आक्रमण र क्यामेरा तोडफोड आबेगमा गरिएको गल्ती भन्दै आगामी दिनमा गल्ती नदोहोर्याउने गरी माफि मागेका हुन् ।
कम्पनीको सिलप्याक खानेपानी जारभित्र कुखुराको प्वाँख भेटिएको विषयमा रिपोर्टिङ गर्न गएका पत्रकारद्वय बिक्रम राई र सुनिल राईमाथि हिजो आक्रमण गरी क्यामेरा तोडफोड गरेका थिए । घटना लगत्तै बेपत्ता भएका चौधरी, पत्रकारले प्रहरीमा उजुरी दिएपछि उपस्थित भएर माफी मागेका हुन् । उनले पत्रकारको क्षती भएको क्यामेरा लगायतको सामानको क्षतिपूर्ती तिरेका छन् ।
नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईली, स्वतन्त्र पत्रकार सेनानी हरिकुमार राई, प्रेस सेन्टर नेपाल प्रदेश सचिव गजेन्द्र राई, पत्रकार महासंघ शाखा सचिव विश्वराज तामाङ, प्रेस सेन्टर नेपाल उदयपुरका अध्यक्ष सुपराज राई लगायत पत्रकारहरुको उपस्थिति तथा रोहबरमा माफि मागेका हुन् । प्रहरी नायव उपरिक्षक राजन चापागाईको रोहबरमा आगामी दिनमा गल्ती नदोहोर्याउने भन्दै प्रहरीमा कागजसमेत गरिएको छ ।
प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको सम्मान गर्ने र पत्रकारको समाचार संकलनमा सहयोग गर्ने प्रतिबद्धतासमेत ब्यक्त गरेका छन् ।
