Sunday, April 19News That Matters

उदयपुर सिमेन्ट सहित ५० उद्योगलाई विद्युत बक्यौता तिर्न प्राधिकरणको अल्टिमेटम

पूर्णपुष्टि, असोज २४ । नेपाल विद्युत प्राधिकरणले उदयपुर सिमेन्ट उद्योग लगायत ५० वटा ठूला उद्योगहरूलाई डेडिकेटेड र ट्रंकलाइन उपभोग बापतको बक्यौता रकम कार्तिक ८ गतेभित्र तिर्न निर्देशन दिएको छ । प्राधिकरणले बिहीबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दै यो जानकारी दिएको हो ।

उदयपुर सिमेन्ट उद्योगले मात्रै ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । विद्युत प्राधिकरणका अनुसार २०७२ माघदेखि २०७५ बैशाखसम्म उद्योगहरूले डेडिकेटेड तथा ट्रंकलाइन मार्फत उपभोग गरेको विद्युतको शुल्क तिर्न बाँकी छ ।

यसअघि बक्यौता रकम नबुझाएपछि प्राधिकरणले ती उद्योगहरूको विद्युत आपूर्ति समेत काटेको थियो । पटक-पटक तिर्न आग्रह गर्दा समेत उद्योगहरूले बेवास्ता गर्दै आएका छन् । अब कानून बमोजिम कारबाही गरी रकम असुल उपर गरिने भन्दै प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको छ ।