
पूर्णपुष्टि, साउन १० । नेपाल पत्रकार महासंघ सुनसरीका कार्यसमिति सदस्य रहेका पत्रकार सुविन विश्वकर्मालाई ज्यान मार्ने धम्कि दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल महासंघ कोशी प्रदेश समितिका महासचिव विवेक गौतमले बुधबार निकालेको विज्ञप्तीमा ‘सुनसरीको बराहक्षेत्र नगरपालिकाका प्रमुखको विषयमा हाम्रोशब्द डटकममा लेखिएको समाचारको विषयमा लिएर नगरप्रमुख रमेश कार्कीको सचिबालयमा कार्यरत सुरज क्षेत्री र रोहित बस्नेतले मिति २०८० साउन ९ गते साँझ ७ बजेतिर घरमै गएर ‘हातखुट्टा भाचिदिन्छु’ भन्दै धम्की दिएको जनाएको छ । सो घटना बाहिर आएपछि पुनः पत्रकार विश्वकर्मालाई तरुण दलमा आबद्ध भविन चाम्लिङ राईले ९८६७८२२२७३ नम्बरको मोबाइलबाट फोन गरी ‘जहाँ भेट्छु, त्यहि पड्काइदिन्छु’ भन्दै आक्रमणको धम्की दिएको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ ‘समचारको विषयमा चित्त नबुझे त्यसको सुनुवाई गर्ने कानुनी प्रक्रिया र स्थापित बिधि भएपनि त्यसविपरित पत्रकारलाई बारम्बार धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी मात्र नभएर अपराधिक कार्य हो । बारम्बारको धम्कीको कारण पत्रकार विश्वकर्माको भौतिक सुरक्षामै चुनौति देखिएकोले निजको सुरक्षाको प्रबन्ध गर्न, धाकधम्की दिनेहरुलाई तत्काल कानुनी कार्वाहीको दायरामा ल्याउन तथा स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण तयार गर्न सरकार र स्थानीय प्रशासनसँग माग गर्दछौं ।’
नगरप्रमुख कार्कीको सचिबालयसँग जोडिएका व्यक्तिहरुबाट पत्रकारहरुमाथि बारम्बार धम्की आउनुले नगरप्रमुखको नियतमाथि पनि गम्भीर प्रश्न खडा भएको छ ‘विज्ञप्तीमा लेखिएको छ’ यसप्रति आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न, अपराधिक कार्य गर्नेलाई कानुनी दायरामा ल्याउने कार्यमा सहयोग गर्न र स्वतन्त्र एवं निर्धक्क भएर पत्रकारिता गर्ने वातावरण तयार गर्न आग्रह गर्दै नगरप्रमुख कार्कीलाई आफ्नो मातहतमा हुने अबाञ्छित गतिबिधि रोक्न चेतावनी दिन्छौं ।

