Thursday, June 18News That Matters

पदम लिम्बु (लाजेहाङ) को अन्त्येष्टि अघि शवयात्रा गरिने

पूर्णपुष्टि, बैशाख ६ । प्रदेश सभाबाट प्रदेशको नाम कोशी राखेको विरोध प्रदर्शनको क्रममा ज्यान गुमाएका पदम लिम्बु (लाजेहाङ) को अन्त्येष्टि अघि शवयात्रा गरिने भएको छ । वैशाख ९ गते (शनिबार) शव यात्रापछि अन्त्येष्टि गरिने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष विष्णु तुम्बाहाङ्फेले जानकारी दिइन् ।

अन्त्येष्टि अघि शवलाई अन्तिम श्रदान्जलीका लागि सुनसरीको धरान, इटहरी र विराटनगरमा राखिनेछ । मुख्यमन्त्री कार्यालय विराटनगर अगाडि केही समय श्रदाञ्जलीका लागि शव राखेर बेलबारीमा लगेर अन्त्येष्टि गर्ने तयारी रहेको उनले बताइन् । लिम्बुको मृत्यु भएको २९ दिनपछि अन्त्येष्टि गर्न लागिएको हो ।
लिम्बु गत चैत ५ गते प्रदेशको नामको विरोधमा विराटनगरमा भएको प्रदर्शनमा घाईते भएका थिए । उनको उपचारको क्रममा चैत १० गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

प्रदेश नं. १ पूनः नामकरण संयुक्त सङ्घर्ष समितिले पदमको परिवारजनसँग समान्वय गरी सम्मानपूर्वक अन्त्येष्टि गर्ने निर्णय भएको जनाएको छ । धरान बस्दै आएका लिम्बुको घर मोरङको बेलबारी–२ लालभित्तीमा पर्छ । पहिचान पक्षधरको माग अनुसार सरकारले गत २४ चैतमा शहीद घोषणा गर्दै उनको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको थियो । ४२ वर्षीय लाजेहाङ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर दल र जातीय संस्थाले प्रदेशको पुन नामाङ्कनको माग सहित प्रदर्शन गरिरहेका छन् ।