
पूर्णपुष्टि/उदयपुर, १ असार २०८३
उदयपुरको उदयपुरगढी गाउँपालिका–३ साइपामा अवस्थित परेवा झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। घना जंगल र विशाल पहाडको काखमा रहेको यो झरनाले प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्थाको केन्द्रका रूपमा पनि छुट्टै पहिचान बनाएको छ।
प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण परेवा झरना करिब ९० फिट अग्लो रहेको वडाध्यक्ष मनोज कार्कीले जानकारी दिए। पहाडको काखबाट छङछङ्ती झर्ने पानी, झरनाले बनाएको प्राकृतिक दह, वरपरको हरियाली वातावरण र शान्त परिवेशले यहाँ पुग्ने पर्यटकलाई मोहित बनाउने गरेको छ। पछिल्लो समय झरना अवलोकन गर्न स्थानीयसँगै विभिन्न जिल्लाबाट आउने आन्तरिक पर्यटकको संख्या समेत उल्लेख्य रूपमा बढ्दै गएको छ। 
पर्यटकको सहज पहुँचका लागि झरनासम्म पुग्ने सिँढी तथा अवलोकन स्थल निर्माण गरिएको छ। झरनाको अवलोकन गर्न सुरक्षित र सहज वातावरण निर्माण गर्ने उद्देश्यले रेलिङसमेत जडान गरिएको वडाध्यक्ष कार्कीले बताए। उनका अनुसार झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थप पूर्वाधार विस्तारको काम भइरहेको छ।
प्राकृतिक आकर्षणका साथै परेवा झरना धार्मिक आस्थासँग पनि गहिरो रूपमा जोडिएको छ । झरनाको माथिल्लो भागमा रहेको देवस्थलप्रति स्थानीय समुदायको विशेष विश्वास रहेको स्थानीय शुक्रबहादुर थापा मगर बताउँछन्। पौराणिक कालमा उक्त स्थानमा शक्तिशाली झाँक्री बस्ने गरेको र उनको दैविक शक्ति अझै कायम रहेको जनविश्वास रहिआएको छ । सोही विश्वासका आधारमा स्थानीयले अहिले पनि देवताको नाममा भाले चढाउने परम्परा निरन्तरता दिएका छन्।
स्थानीय घमानबहादुर थापा मगरका अनुसार नयाँ कामको सुरुवात गर्नुपर्दा वा कुनै महत्वपूर्ण कार्य अघि बढाउँदा देवतालाई सम्झेर भाले चढाउने चलन छ। निःसन्तान दम्पतीले भाकल गरेमा सन्तान प्राप्त हुने तथा विभिन्न मनोकामना पूरा हुने जनविश्वाससमेत स्थानीय समुदायमा रहेको छ । यस ठाउँकाे प्रवर्धन र प्रचार प्रसार भने स्थानीयतह भएपछि हाे । हाल वडाध्यक्षमा पुन: निर्वाचित कार्की २०७४ सालकाे पहिलाे कार्यकालमा नयाँ नामाकरण, सरक्षण, प्रवर्धन र भाैतिक सरचनाहरुकाे निर्माण कार्य थालिएकाे थियाे । याे वडामात्र हैन सिगाे पालिकाकै प्राथमिकता मध्येकाे एक पर्यटकीय स्थल बनेकाे छ । 
धार्मिक महत्वलाई थप व्यवस्थित बनाउन भिरालो स्थानमा रहेको पुरानो महादेवथानको विकल्पस्वरूप तल समथर स्थानमा मन्दिर निर्माण गरिएको छ। मन्दिर परिसरमा भगवान शिवको ठूलो मूर्तिसमेत स्थापना गरिएको छ। साथै धार्मिक तथा पर्यटकीय गतिविधिलाई थप व्यवस्थित बनाउन पार्क, विश्रामस्थल लगायतका संरचना निर्माणको काम पनि अघि बढाइएको छ ।
उदयपुरगढी गाउँपालिकाले परेवा झरनालाई प्राथमिकतामा राखेर पर्यटन पूर्वाधार विकास गरिरहेको गाउँपालिका उपाध्यक्ष जीतबहादुर खड्काले बताए। उनका अनुसार झरनाको संरक्षण, प्रवर्द्धन र पर्यटकमैत्री वातावरण निर्माणका लागि विभिन्न योजना कार्यान्वयन भइरहेका छन्। हालसम्म सो क्षेत्रमा गाउँपालिका र प्रदेश सरकारको गरी करिब ४५ लाख रुपैयाँ लगानी भइसकेको छ।
यद्यपि, झरनासम्म पुग्ने सडक भने अझै चुनौतीपूर्ण रहेको स्थानीयको गुनासो छ। विशेषगरी वर्षायाममा सडक बिग्रिने समस्या दोहोरिने हुँदा स्थानीयवासी तथा पर्यटक दुवैले आवतजावतमा कठिनाइ भोग्नुपरेको छ ।
सामाजिक अभियन्ता रमा मगरका अनुसार प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र उच्च पर्यटन सम्भावना बोकेको परेवा झरनामा सहज सडक पहुँच र थप पूर्वाधार विकास गर्न सकिए पूर्वी नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्छ। स्थानीयवासीको विश्वास पनि पर्यटनको विकाससँगै व्यापार, कृषि तथा समग्र स्थानीय अर्थतन्त्रले नयाँ गति लिनेमा केन्द्रित छ। प्राकृतिक सम्पदा, धार्मिक विश्वास र पर्यटन सम्भावनाको त्रिवेणीका रूपमा रहेको परेवा झरनाले उदयपुरको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
फाेटाे फिचर : तस्विरहरु : बिरशबाबु शाही/सनम गच्चेदार

