
पूर्णपुष्टि/उदयपुर, असार १
उदयपुरको त्रियुगा नगरपालिका–७ चुहाडे क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेकी एक महिलाको आज उद्धार गरी मानव सेवा आश्रम विराटनगर शाखामा पठाइएको छ ।
उद्धारकर्मीहरूका अनुसार ती महिलाले आफ्नो घर “मोतिगडा” भएको र आफन्तको नाम “लालु” रहेको बताउने गरेकी छन् । उनी चौदण्डीगढी नगरपालिका–५ क्षेत्रकी हुन सक्ने अनुमान गरिएको भए पनि वास्तविक नाम, ठेगाना तथा पारिवारिक विवरण हालसम्म खुल्न सकेको छैन ।
उद्धार टोलीकी सदस्य मेनुका खड्काका अनुसार ती महिला केही समयअघि चौदण्डीगढी नगरपालिका–२ क्षेत्रमा समेत भेटिएकी थिइन् । त्यसबेला उनको उद्धारको तयारी भइरहेकै अवस्थामा उनी सम्पर्कविहीन भएकी थिइन् । पछि पुनः त्रियुगा नगरपालिका–७ चुहाडेमा कपडाविहिन अवस्थामा रहेकाे खबर पाएपछि उद्धारटाेलीले उद्धार गरी मानव सेवा आश्रम विराटनगर शाखामा सुरक्षित रूपमा पठाइएकाे हो ।
महिलाको पहिचान खुल्न नसकेकाले उनलाई चिन्नुहुने वा उनको परिवारबारे जानकारी राख्ने व्यक्तिहरूलाई मानव सेवा आश्रमसँग सम्पर्क गर्न उद्धारकर्मीहरूले अनुरोध गरेका छन् । उद्धारकर्मीहरूका अनुसार महिलालाई परिवारको सम्पर्कमा ल्याउने प्रयास जारी रहेको छ।
