
पूर्णपुष्टि, उदयपुर/असार १ गते ।
मुक्तिनाथ बैँक गाईघाट शाखाले त्रियुगाका दुई विद्यालयमा शैक्षिक सामाग्री प्रदान गरेको छ । “विद्यार्थी सँग मुक्तिनाथ बैँक” भन्ने नारा सहित सोमवार बैँकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री प्रदान गरिएको हो । बैँकले त्रियुगा नगरपालिका वडा नं ९ राजावासका अम्वेवर जनता मावि का ५० जना र त्रियुगा नगरपालिका ८ बागचौरीका खाट मन्दिर आधारभूत विद्यालयका ६० जना गरी जम्मा ११० जना अति विपन्न बर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो । शैक्षिक सामाग्रीमा ब्याग र स्टेसनरीको सामाग्री प्रदान गरिएको छ । बैँकका गाईघाट शाखा प्रमुख सुरेश खत्रीले बैँक नाफा मुलक संस्था मात्रै नभई सामाजीक कार्य र जनताको लागि पनि उत्तिकै जिम्मेवारी रहेको जनाए । बैँकले पैसाको मात्रै कारोबार गर्ने भ्रम चिर्दै सामाजिक उत्तरदायीलाई पनि मुक्तिनाथले आफुलाई जिम्मेवार बनाएको खत्रीको भनाई थियो । शैक्षिक सामाग्री पाएका विद्यालय र विद्यार्थीहरुले बैँकलाई धन्यवाद दिएको छ । सामाग्री वितरण कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक शिक्षिका, विद्यार्थी र अभिभावकको उपस्थिति थियो । कार्यक्रममा सहभागी ९ नं वडा अध्यक्ष राज कुमार दनुवारले आफ्नो वडाका विद्यालयलाई रोजेर सामाग्री प्रदान गरेकोमा खुसी ब्यक्त गरे । आउँदा समयमा पनि साथ सहयोगको अपेक्षा गर्दै बैँक प्रति उज्वल प्रगति र धन्यवाद ब्यक्त गरे । कर्जा बिभागका सागर राईका अनुसार यस्ता कार्यक्रमहरु आउँदो समयमा पनि गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको छ । उनले विगतमा पनि बैँकले अन्य विद्यालय लगायत बिभिन्न क्षेत्रमा कार्यक्रम गर्दै आएको र यो पटक भने त्रियुगाको दुई ओटा विद्यालयमा कार्यक्रम गरिएको जनाए ।

