
पूर्णपुष्टि/उदयपुर, कार्तिक १९ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ५ स्थित अढाई सय वर्ष पुरानो ऐतिहासिक स्थल उदयपुरगढी पुननिर्माणसंगै पर्यटकीय आकर्षण बढेको छ । भग्नावशेष मात्र रहेको गढीको पुनःनिर्माण गरिएपछि आकर्षण थपिएको हो ।
१५ औं शताब्दीको उत्तरार्थतिर राजा उदयचन्द्र सेनले उदयपुरगढीबाट राज्य सञ्चालन गरेको इतिहास छ । उदयपुरगढी गाउँपालिका र कोशी प्रदेश सरकारको करिब दुई करोड २५ लाखको लगानीमा गढीको पुनः निर्माण भएको गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताउनु भयो । उहाँले उक्त ठाउँ देशकै सय पर्यटकीय गन्तब्य मध्ये एक भएकोले जिल्ला मात्र हैन प्रदेशमै उत्कृष्ठ बनाउने योजना रहेको बताउनुभयो ।
पुनः निर्मित संरचनाले ऐतिहासिक युद्धभुमी गढीको झलक दिएको छ । गढीको मुख्यगेट, तोप, राजाचढेको घोडा, मन्दीर र पर्खालहरु पौराणिक र ऐतिहासिक महत्वका छन् । गढी छेउमै प्राचिन दरबारका भग्नावशेष, पञ्चावती मन्दीर, बषौं पुराना बरपिपल,। प्रस्तर स्तम्भ, सिंहको मूर्ति, गणेशमुर्ती विशेष छन् ।
त्यहाँको ऐतिहासिक र पौराणीक कुराहरु अत्यान्तै महत्वपूर्ण रहेको पालिका उपाध्यक्ष जितबहादुर खड्काले बताउनुभयो । यो पर्यटकका लागि अत्यान्तै महत्वपूर्ण आकर्षणको कुरा रहेको उहाँको भनाई छ । त्यहाँ पर्यटकले हेर्ने र रमाउने, अवलोकन, अध्यायन र शिक्षा लिने कुरा अनगिन्ती रहेको उहाँको भनाई छ ।
तत्कालीन राजा उदयचन्द्र सेनको नामबाटै जिल्लाको नाम उदयपुर रहन गएको मानिन्छ । २०२८ सालतिर गाईघाटमा जिल्ला सदरमुकाम सारिनु अघि सोही ठाउँमा थियो ।

उदयपुरगढी अब पर्यटकीय एक महत्वपूर्ण स्थलको रुपमा स्थापित भइरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले बताउनुभयो । सोही हिसावले त्यहाँको ब्यवस्थापन र प्रचारप्रसार अगाडि बढाइएको उहाँले बताउनुभयो । हाललाई उक्त ठाउँको संरक्षण एवम् प्रवद्र्धनलाई ध्यानमा राखेर संरक्षण थालिएको छ । टिकट प्रणाली लागु गरिएको छ । ठेक्का प्रणालीबाट त्यहाँ टिकट काट्ने र सुरक्षा एवम् संरक्षण गर्ने कार्य थालनी भएको छ । पर्यटकलाई सहजताका लागि ब्यवस्थापन मिलाइएको छ । सरसफाई, खानेपानी, सौचालय आदिको ब्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

समुन्द्रसतहदेखि ११६० मिटर उचाइ र सदरमुकाम गाईघाटदेखि करिब २८ किलोमिटर दुरी उत्तरपश्चिममा रहेको गढीको सदावहार चिसो, स्वाच्छ हावा, हिमाल र तराईको दृष्यवलोकन मुख्य विशेषता हुन् ।
त्रियुगा नगरपालिका ४ बगाहाका सुनिल राईले उदयपुरगढी एक मनमोहक र महत्वपूर्ण पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थलको रुपमा आफुले पाएको बताउनुभयो ।
इतिहासको ज्ञान र मनोरम प्रकृतिको आभाष एकैसाथ गर्न सकिने उदयपुरगढी नेपालको सय पर्यटकीय गन्तब्य मध्येको एक हो । तसर्थ यसको प्रवद्र्धन, प्रचार प्रसारमा सबैले हातमा हात, साथमा साथ मिलाउनु पर्ने पर्यटकविज्ञहरु बताउछन् । उदयपुरगढीको महत्वअनुसारको प्रचार प्रसार र प्रवद्र्धनको कार्य थप गर्न जरुरी रहेको उनीहरुको सुझाव छ ।
