Sunday, April 19News That Matters

पहिरोले उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध

पूर्णपुष्टि, असोज २५ । उदयपुरको कटारी–घुर्मी सडकखण्डमा सुख्खा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सिद्धीचरण राजमार्गअन्तर्गत कटारी नगरपालिका–१४ भदौरेमा खसेको पहिरोले करिब सय मिटर सडक पुरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईंले बताए ।

सडक खुलाउन ओखलढुङ्गाको सडक कार्यालयले बिहानैदेखि डोजर लगाएको छ । एउटा डोजर अपर्याप्त भएकाले कटारीबाट थप एउटा डोजर पहिरो स्थलमा पुगेर काम सुरु गरिरहेको डिएसपी चापागाईले बताए । डिएसपी चापागाईंका अनुसार एकतर्फी सडक खुलाउन करिब ४ घण्टा लाग्ने अनुमान गरिएको छ ।

पहिरोको कारण दशैंको समयमा कोशी प्रदेशका पूर्वी सहरबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जाने यात्रुहरू अलपत्र परेका छन् । कटारी–घुर्मी सडक पहाडी जिल्लाहरूलाई तराईसँग जोड्ने महत्त्वपूर्ण मार्ग हो । ओखलढुङ्गाको हर्कपुरस्थित सडक कार्यालयसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।