Monday, April 20News That Matters

मर्मतपछि खोटाङ र उदयपुर जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

पूर्णपुष्टि, असोज २५ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिका जोड्ने झोलुङ्गे पुल मर्मतपछि बिहीबारदेखि सञ्चालनमा आएको छ ।गत असोज १२ गते सुनकोसी नदीमा आएको भीषण बाढीले क्षतिग्रस्त बनाएको पुल दिप्रुङ चुइचुम्मा गाउँपालिकाले एक लाख ४५ हजार रूपैयाँको लागतमा मर्मत गरेको हो ।

दिप्रुङ चुइचुम्मा–४ बतासेको भडारेघाट र रौतामाई–३ लाई जोड्ने झोलुङ्गे पुल मर्मत भएपछि दुई गाउँपालिकाबीच पैदल यात्रु तथा सामान आवतजावत सहज भएको छ । गाउँपालिका अध्यक्ष लोकेन्द्र राईका अनुसार बाढीले फोक्सिङटारको पुल लगायत अन्य झोलुङ्गे पुल पनि बगाएको थियो । फोक्सिङटारको पुल अझै बन्न नसके पनि यो झोलुङ्गे पुल मर्मत गरिएकाले तराईसँगको सम्पर्क पुनः स्थापित भएको राईले बताए ।