
पूर्णपुष्टि/उदयपुर, पुस ८ ।
गत पुस २ गते पाँचथरको फिदिम नगरपालिका –११ नांगिनमा रुखमा झुण्डिएर मृत अवस्थामा फेला परेको २४ वर्षिय पारस सुजी (दर्जी)को मृत्युलाई परिवार, आफन्त र छिमेकीहरुले संकास्पद रुपमा लिएका छन् । घटना प्रकृतिको आधारमा उनको मृत्युलाई शंकास्पदरुपमा लिएको मृतकका दाजु चन्द्रबहादुर दर्जीले बताउनुभयो ।
उनका अनुसार झुण्डिएको अवस्थामा फेला परेका पारसको आत्महत्या नभइ हत्याको आशंका गरिएको छ । घटनाअघि उनको प्रेमिकासंग विवाद, हातपात भएको थियो भने झुण्डिन प्रयोग भएको रुख, सल, भेष्ट च्यातिएको अवस्था र घटनास्थल वरपर लडिबढी गरेको अवस्था देखिएकाले उनको हत्या भइ झुण्ड्याएको हुनसक्ने आशंका भएको हो । १ गते राती नै उनको हत्या भई झण्ड्याएको हुनसक्ने आशंका उनीहरुको छ ।
उनी स्थानीय एक महिला एलिसा आङ्बोसंग प्रेम सम्बन्धमा रहेको बताइएको छ । उनीसंग बेलुका विवाद र झगडा परेको गाउँलेहरुले देखेका थिए । मृतककी सानीआमा कमला नेपालीका अनुसार उनीहरुबीच दुई/तीन वर्षदेखि बोलचाल र प्रेम सम्बन्ध रहेको थियो ।
उनै प्रमिका भनिएकी एलिसा आङ्वोलाई हत्यामा संलग्नको आरोप लागेको छ । तर उनी एक्लैले त्यतिका लक्काजवानको हत्या गर्न नसक्ने भन्दै अरु पनि संलग्न रहेको आशंकासमेत गाउँलेहरुको छ ।
मृतकका मामा कुमार नेपालीका अुनसार घटना शंकास्पद देखिएपछि प्रहरीमा किटानी जाहेरी दिदा प्रहरीले लिन मानेन । निष्पक्ष छानविनको माग गर्दै मृतक परिवार, आफन्त र गाउँलेहरुबाट धर्ना, नारा जुलुससमेत भयो । स्थानीयहरुको दवाव पछि प्रहरीले किटानी जाहेरी दर्ता गरेको छ । चारदिनपछि विदेशमा रहेकी मृतककी आमा निर्मला सिवा आएर उनै प्रेमिका आङ्वोको नाममा किटानी जाहेरी दिएकी छिन् । मृतक युवाको लास उठाएसंगै प्रहरीले नियन्त्रणमा लिएको प्रेमीका भनिएकी आङ्बोलाई छाडिएकोमा किटानी जाहेरी पछि पुनः नियन्त्रणमा लिइ हिरासतमा राखेको छ ।
घटनालाई राजनीतिकरण र अन्य दवावका कारण प्रभावित हुन नदिन स्थानीयले खबरदारी गरिरहेका छन् । घटनाको निष्पक्ष छानविन हुनेमा शंका रहेको भन्दै मृतकका परिवार, आफन्त र छिमेकीहरुले खबरदारी गरिरहेको मृतकका साथी मास्के डन लामाले बताउनुभयो ।
वडा सदस्य मानबहादुर जवेगुका अनुसार घटना शंकास्पद देखिएको छ । घटनाको निष्पक्ष छानविनको आवश्यक रहेको उहाँले बताउनुभयो । आत्महत्या भन्दा पनि हत्या भएको हुनसक्ने आशंका मृतकका परिवार र स्थानीय गाउँलेहरुले गरेकाले निष्पक्ष छानविन हुनुपर्ने उहाँले बताउनुभयो । यस्ता घटनामा अपराधी उम्कन नहुने र निर्दोश फस्न नहुने उहाँले बताउनुभयो ।
पाँचथर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार विदेशमा रहेकी मृतककी आमा निर्मला सिवा नेपाल आएर घटनाको चारदिन पछि किटानी जाहेरी दर्ता भएको छ । मृतक युवाका प्रेमिका भनिएकी एलिसा आङवोको नाममा जोहरी परेको छ । जाहेरी पछि अदालतबाट ७ दिनको म्यादसहित उनलाई प्रहरी हिरासतमा लिएर अनुसन्धान चलिरहेको प्रनि साहले बताउनुभयो । पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेकोले रिपोर्ट आएपछि अनुसन्धान थप अगाडि बढ्ने उहाँले बताउनुभयो । घटना आत्महत्या वा हत्या हो भन्ने कुरा प्रहरीको अनुसन्धान पुरा भएप्छि मात्र थाहा हुने र सोही बमोजिम कारवाही अगाडी बढ्ने जानकारी प्रहरीले दिएको छ ।
