
पूर्णपुष्टि सम्वाददाता /उदयपुर, असोज ६ ।
उदयपुरगढी गाउँपालिका–७ तिल्किनीमा विद्युतको तार चुडिएपछि पाँच महिनादेखि खानेपानी आयोजना बन्द भएको छ। विद्युत्बाट सञ्चालन हुँदै आएको आयोजना बन्द हुँदा त्यसबाट खानेपानी उपभोग गर्दै आएका २३ घरपरिवार प्रभावित भएका छन्।
खानेपानी आयोजना बन्द भएपछि स्थानीय बासिन्दा दैनिक घन्टौँ हिँडेर खोला तथा अन्य पानीका स्रोतबाट पानी ल्याउन बाध्य छन्। लामो समयदेखि खानेपानीको समस्या झेल्दै आए पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ।
समस्या समाधानका लागि विद्युत् कार्यालय उदयपुर तथा खानेपानीसम्बन्धी कार्यालयमा पटक–पटक निवेदन दिइसक्दा पनि पाँच महिनासम्म समस्या समाधान हुन सकेको छैन।
स्थानीयका अनुसार विद्युत् तार मर्मत गर्ने विषयमा सम्बन्धित कार्यालयहरूले एकले अर्कोलाई जिम्मेवार देखाउँदै पन्छिने गरेका छन्। जसका कारण सामान्य मर्मतबाट सञ्चालनमा आउन सक्ने खानेपानी आयोजना लामो समयदेखि बन्द अवस्थामा रहेको स्थानीयको भनाइ छ।
खानेपानीजस्तो आधारभूत आवश्यकताको सेवा पाँच महिनासम्म अवरुद्ध हुँदा बालबालिका, महिला तथा ज्येष्ठ नागरिकसमेत बढी प्रभावित भएका छन्। दैनिक उपभोगका लागि टाढाबाट पानी बोक्नुपर्ने बाध्यताले स्थानीयको जनजीवन थप कष्टकर बनेको छ।
स्थानीयवासीले चुडिएको विद्युत् तार तत्काल मर्मत गरी खानेपानी आयोजना पुनः सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। साथै, लामो समयदेखि समाधान हुन नसकेको समस्यामा सम्बन्धित कार्यालयले तत्काल समन्वय गरी नागरिकको आधारभूत आवश्यकताको सेवा सुचारु गर्नुपर्ने उनीहरूको भनाइ छ ।
विद्युत कार्यालय उदयपुरका प्रमुख मनोज झाले समस्या वारे बुझेर उपयोक्ताको समाधानमा लाग्ने पूर्णपुष्टिलाई बताएका छन् ।
