
पूर्णपुष्टि सम्वाददाता/उदयपुर, असोज ४ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया बिमला राई रहेकी छन् ।
प्रहरीका अनुसार शनिबार राति करिब १२ः३० बजे घरायसी विवादका क्रममा उनका श्रीमान् करिब ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी सिकल (हँसिया) ले बिमलाको गर्दनमा प्रहार गरेका थिए।
घटनापछि गन्दु राम आफैँ अस्थायी प्रहरी पोष्ट माडिबासमा पुगेर घटनाबारे जानकारी गराएका थिए । प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखेको छ ।
यता, अस्थायी प्रहरी बिट माडिबासबाट खटिएको प्रहरी टोलीले घाइते बिमलालाई उद्धार गरी उपचारका लागि नगर अस्पताल बेल्टार पुर्याएको थियो । तर, उपचारकै क्रममा राति १ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
