Saturday, September 19News That Matters

एलेभेन स्टार च्यालेन्ज कपमा डिडिवाइसी बेल्टारको शानदार सुरुवात

पूर्णपुष्टि/असोज ३, २०८३ । उदयपुर

गाईघाट । त्रियुगा नगरपालिका–१० मा एलेभेन स्टार फुटबल क्लबको आयोजनामा स्वर्गीय खेलाडीहरूको स्मृतिमा दोस्रो एक्सट्रिम एलेभेन स्टार च्यालेन्ज कप–२०८३ शनिबारदेखि सुरु भएको छ।

नाइन–ए–साइड नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा डिडिवाइसी बेल्टारले सिसवारी युथ क्लब सप्तरीलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

डिडिवाइसीका जर्सी नम्बर १० कासचिन खड्काले ह्याट्रिक गरे भने अनिस बस्नेतले एक गोल थपे। सिसवारी युथ क्लबका लागि अर्जुन राणा मगरले एक गोल फर्काए।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका डिडिवाइसी बेल्टारका कासचिन खड्का म्यान अफ द म्याच घोषित भए। उनले पुरस्कारस्वरूप नगद १ हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताअन्तर्गत भोलि गाईघाट युनाइटेड र रौतामाई स्पोर्ट्स क्लब, मुरकोचेबीच दोस्रो क्वाटरफाइनल खेल दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल, उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।