
कात्तिक २४ गते ।
नेपालमा पहिलो पटक पाटे बाघ सम्बन्धि नेपाली भाषामा पुस्तक प्रकाशन भएको छ । नेपाली पाठकहरूले आफ्नै भाषामा नेपाल, भारत, भुटान र बंगलादेशमा पाईने दुर्लभ पाटेबाघ सम्बन्धि अध्ययन गर्न पाउने भएको हो ।
चरा विशषेज्ञको रुपमा चिनिएका हेमसागर बरालद्वारा लिखित ‘पाटेबाघ’ पुस्तक काठमाडौँमा आइतबार लोकार्पण गरिएको छ । जुलोजिकल सोसाइटी अफ लण्डनका नेपाल प्रतिनिधिसमेत रहेका बरालले आफूले चितवनमा पथ प्रदर्शक हुँदादेखि चरामा विद्यावारिधी गर्दासम्म र त्यसपछिका विभिन्न अनुभवहरू सङ्गालेर पुस्तक तयार पारेको बरालले बताए ।
‘सय वर्षअघि संसारमा भएका बाघहरूको सङ्ख्याको अहिले १० प्रतिशत मात्रै बाँकी छ ।’ बरालले भने, ‘यो पुस्तकले बाघका बारेमा थप पुस्तकहरू प्रकाशन गर्ने शोधकर्ताहरूलाई प्ररेणा दिनेछ ।’ हिमाली प्रकृतिद्वारा प्रकाशित १ सय ३० पृष्ठको पुस्तकमा फोटोग्राफरहरू सागर गिरि र प्रद्योत राणाले विभिन्न समयमा खिचेका बाघका तस्विरहरू समावेश गरिएको छ ।
