Thursday, October 16News That Matters

पाहामार्न जाँदा बाढीमा फसेका ४ जनाको सकुशल उद्धार

पाँचथर, भदौ ११ गते । पाँचथरको याङवरक गाउँपालिका–२ स्थित ईवा खोलामा अचानक आएको बाढीको कारण खोलाको विच भागमा फसेका ४ जना मानिसलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार मंगलबार साँझ पाहा मार्न गएका स्थानिय फिदिम नगरपालिका–४ का १९ बर्षीय प्रतिक तामाङ, २३ बर्षीय झल्ला सम्बाहाम्फे, २८ बर्षीय शेर बहादुर मगर र ताप्लेजुङ सिदिङवाका २२ बर्षीय सन्तोष पन्धाक अचानक आएको बाढी कारण खोलाको विच भागमा रहेको बगरमा फसेका थिए ।

घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी फलैचा, इलाका प्रहरी कार्यालय च्याङथापु र अमरपुरबाट खटिएको प्रहरी टोलीले पानी परीरहेको र खोलामा भेल बाढी आईरहेको कारण उद्धार गर्न कठिनाई भएकोले उनिहरुलाई राती खानको लागी चाउचाउ र लाईटरलाई ढुंगामा पोको पारेर फाली उपलव्ध गराएका थिए । रातभरी ठुलो ढुंगाको ओतमा आगो तापी बसेका उनिहरुलाई ११ गते बिहान खोलामा बाँसको पुल बनाई स्थानियको सहयोगमा सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।