
पूर्णपुष्टि, पुष १९
जग्गाधनीको विवाद रहेको त्रियुगा नगरपालिका–१२ पुरानो गाईघाट (पिजिचौक) देखि करिव ५० र ६० मिटर पूर्वको भागमा अब राजमार्ग निर्माणको काम अगाडि बढेको छ । नगरपालिका आफै अग्रसर भई राजमार्गको लागि २२ मिटर सडक नापेर त्यसभित्रका टहरा तथा अन्य सामानहरु हटाएपछि निर्माणको काम अगाडि बढ्ने भएको हो । मदन भण्डारी राजमार्गको निर्माण कार्य तिब्ररुपमा भईरहदा त्याहा विवादका कारण काम अगाडि बढ्न सकेको थिएन ।

जग्गाधनीको लामो विवादले काम नै अबरोधको अबस्था आएपछि नगरपालिकाले अग्रसरता देखाई काम अगाडि बढाएको मेयर बलदेव चौधरीले बताउनु भयो । सडकको दाँया वाँया दुबैतर्फका जग्गाधनीलाई मार्का नपर्ने गरि काम अगाडि बढाईएको मेयर चौधरीले बताउनुभयो ।

पूर्व–पश्चिम फैलिएको उक्त ठाउँको राजमार्गको उत्तरतर्फ शिव कटुवाल र दक्षिणतर्फ युवराज बुढाथोकी लगायतको जग्गा रहेकोमा राजमार्गको लागि जग्गा खाली गर्ने सन्दर्भमा विवाद भएको थियो । कटुवालतर्फ अनावश्यक रुपमा विवाद लम्ब्याउदै राजमार्गको निर्माण कार्यमा अबरोध गरिएको थियो । सामाजिक तथा कानुनी सबै हिसावले मिलाउन खोज्दा पनि अटेर भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षाकाबीच टहरा तथा सामानहरु हटाई काम अगाडि बढाईएको हो । उक्त ठाउँमा तत्कालै कालोपत्रे सडक निर्माणको काम अगाडि बढ्ने बताईएको छ । उक्त ठाउँमा कालोपत्रे भएपछि सदरमुकाम गाईघाटको बजारक्षेत्र र पुरानो गाईघाट क्षेत्रको मुहार फेरिने पिजिचौकका आयुषा पुस्तक पसलका प्रोपाईटर नरेश राउतले बताउनुभयो ।

