Friday, April 17News That Matters

पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव

पूर्णपुष्टि, असोज ४ ।  अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले डा महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव गरेकी छिन् । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी प्रधानमन्त्री कार्की विभिन्न व्यक्तिहरूसँग छलफलमा छिन् ।

यसैक्रममा उनले महावीर पुन र केही युवा पत्रकारहरूसँग पनि छलफल गरेकी छन् । छलफलका क्रममा कार्कीले महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव गरेको स्रोतले बतायो । तर पुनले भने स्पष्ट जवाफ दिएका छैनन् ।

अन्तरिम चुनावी सरकारमा हाल तीन जना मात्र मन्त्री छन् । अर्थमन्त्रीमा पूर्वसचिव रामेश्वर खनाल, ऊर्जा जलस्रोत तथा सिंचाइ, शहरी विकास र भौतिक पूर्वाधार मन्त्रीमा कुलमान घिसिङ तथा गृह र कानुन मन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त भईसकेका छन् ।

वैज्ञानिक तथा सामाजिक अभियन्ताका रूपमा चिनिएका पुनलाई पनि सरकारमा समेट्नुपर्ने आवाज जेनजी युवा पुस्ताबाट उठिरहेको छ । पुनले नेपालमा पहिलोपटक ताररहित इन्टरनेट सेवा सञ्चालन गरेका थिए । यही उपलब्धिमार्फत उनले रोमन म्यागासेसे पुरस्कारसमेत पाएका थिए ।

पुन हाल राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक छन् । महावीर पुनले हालै आफ्नो किताब बिक्रीमार्फत कृषि औजार कारखाना चलाउन रकम संकलन गरेका थिए ।