Wednesday, April 22News That Matters

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या जग्गा विवादका कारण भएको खुलासा

पूर्णपुष्टि, साउन १४ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या जग्गा विवादका कारण भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। गत साउन ६ गते राति सर्लाहीको चन्द्रपुर नगरपालिका–१ रत्नपुरस्थित आफ्नै घरमा रायको हत्या भएको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार हत्याको योजनाकार पूर्वमन्त्री रायका छिमेकी ४६ वर्षीय वीरेन्द्र राय यादव रहेको पुष्टि भएको छ। उनकै योजना र प्रलोभनमा रायको घरमा काम गर्ने २५ वर्षीय रामउजैन रायले हत्या गरेको खुलेको छ। अनुसन्धानका क्रममा वीरेन्द्रले पूर्वमन्त्री रायको पक्की घर आफ्नो जग्गा मिचेर बनाएको आरोप लगाउँदै आएको खुलासा भएको छ । उनले रामउजैनलाई दुई लाख रुपैयाँ र व्यवसायको लागि एउटा फर्म खोलिदिने प्रलोभन दिएर हत्या गर्न लगाएको बताइएको छ।

प्रहरीले घटनास्थल नजिकैबाट रगत लागेको धारिलो फर्सा र रगत लागेको तन्ना लगायतका प्रमाणहरू संकलन गरेको थियो। केन्द्रीय अनुसन्धान ब्यूरो र प्रदेश प्रहरी कार्यालयको सहयोगमा गरिएको अनुसन्धानबाट अभियुक्तहरू पत्ता लागेको डीएसपी श्रेष्ठले जानकारी दिए। हाल पक्राउ परेका वीरेन्द्र र रामउजैनलाई थप अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ।