
पूर्णपुष्टि,चैत्र १९ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर पठाएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
हाल नेपाली बजारमा पेट्रोलको खुला बिक्री मूल्य प्रतिलिटर १७८ रुपियाँ र डिजेलको १७५ रुपियाँ कायम छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि सो अनुपातमा स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ र डिजेलमा प्रतिलिटर १५ रुपियाँ नाफा रहेको छ ।
खपत कम हुनुले गर्दा पेट्रोलियम पदार्थ रिफाइनरी गर्ने कम्पनीहरूको लागतमा पनि कमी आएकाले नेपाल आउने पेट्रोलियम पदार्थको पनि मूल्य घटेको निगमले जनाएको छ । निगमले पछिल्लो समय पेट्रोलियम पदार्थ खरिदबापत आईओसी र सरकारको ऋण गरेर १६ अर्ब बक्यौता तिर्नुपर्ने थियो । हाल नाफामा रहेका कारण उक्त बक्यौता घटेर १२ अर्ब हाराहारीमा आइपुगेको छ ।
