
पूर्णपुष्टि, साउन १४ । पोखरामा एक स्कुल बस दुर्घटना हुँदा आमा र छोराको मृत्यु भएको छ, भने २८ जना घाइते भएका छन्। एलपी देवकोटा मेमोरियल विद्यालयको बस दुर्घटना हुँदा विद्यालयकी कार्यालय सहयोगी ३३ बर्षीया आरती विक र अन्दाजी ५ बर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माका अनुसार दुर्घटनामा परी गम्भिर घाईते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। पोखरा–२१ कृस्तीमा आज बिहान ग १ क ६२१९ नं. को स्कुल बस सडकबाट अन्दाजी ५० मिटर तल खसेर विद्यार्थीसहित दुर्घटनामा परेको थियो । चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा परेका घाइतेहरूको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रवक्ता शर्माले जानकारी दिए । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
