
पूर्णपुष्टि, साउन १४ । सहकारी छानबिन संसदीय समितिले सहकारीको रकम अपचलन गरी विदेश भागेका १८ जनालाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ। समितिको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो।
समिति सभापति सूर्य थापाका अनुसार यी व्यक्तिहरू विभिन्न देशहरूमा फरार रहेका छन्। केही अमेरिका, बेलायत, मलेसिया र भारतमा रहेको अनुमान गरिएको छ, जबकि केहीको ठेगाना अज्ञात छ। समितिले गृहमन्त्रीलाई यी व्यक्तिहरूलाई खोज्न स्वदेश फर्काउन र छानबिनको दायरामा ल्याउन आग्रह गरेको छ।
फरार सूचीमा सहारा, सूर्यदर्शन, सानोपाइला, सुप्रिम, सुमेरु, शिवशिखर, इमेज, कान्तिपुर सेभिङ र मेघाड्रिम जस्ता विभिन्न सहकारी संस्थाहरूसँग सम्बन्धित व्यक्तिहरू रहेका छन्। यसमा जीबी राई, ज्ञानबहादुर बम्जन, सुवास केसी, भरत महर्जन र उनका परिवारका सदस्यहरू, देवकुमार नेपाली लगायत प्रमुख रूपमा समावेश छन्।
समितिले सहकारी मुद्दामा हाल थुना वा प्रहरी हिरासतमा रहेका २४ जनासँग पनि सोधपुछ गर्ने निर्णय गरेको छ। सभापति थापाले यसका लागि आवश्यक जनशक्ति र समय व्यवस्थापन गर्न गृहमन्त्री र सचिवलाई निर्देशन दिइएको जानकारी दिए। समितिले यी व्यक्तिहरूलाई छानबिनको दायरामा ल्याएपछि मात्र निष्कर्षमा पुग्न सकिने बताएको छ।
