Tuesday, June 2News That Matters

पोलबाट खसेर प्राधिकरणका कर्मचारी लिम्वुको मृत्यु

पूर्णपुष्टि, माघ २४
नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको पोलबाट खसेर मृत्यु भएको छ । सोमवार पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन बस्ने ४८ वर्षीय सूर्यप्रसाद केदेम लिम्बूको मृत्यु भएको हो । प्रहरीका अनुसार लिम्वु वितरण केन्द्रमा प्राविधिक कर्मचारीका रूपमा कार्यरत थिए ।

लिम्बू सदरमुकाम फुङ्लिङ बजारको वीरेन्द्रचोक क्षेत्रमा बिजुली बनाउने क्रममा अचानक पोलबाट खसेर पक्की सडकमा बजारिएका थिए। गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार उपचारका लागि तत्काल अस्पताल पुर्‍याइएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।