
पूर्णपुष्टि, बैशाख ८ । गायक प्रकाश सपुतले ‘सकम्बरी’ गितलाई लिएर भएको विवादको विषयमा माफी मागेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक स्टाटसमा ‘मेरो सिर्जनाले प्रत्यक्ष÷अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ, सबैसँग क्षमा चाहन्छु भन्दै माफी मागेका हुन् ।
रात्रिकालीन मनोरञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा आफूले पाँच वर्ष सो क्षेत्रमा काम गर्दा अपमानजनक दृष्टिकोण खेपेको अनुभव पनि उल्लेख गरेका छन् । ‘कसैलाई होच्याएर, आफू अग्लिनु छँदै छैन, कसैलाई असफल बनाएर सफल हुनु छँदै छैन । कमजोरी छैन भन्दिनँ, छ तर सकीनसकी जानीनजानी गर्न खोजेको चाहिं समाजका अँध्यारा कथाहरु देखाएर उज्यालोतिर लाग्न प्रेरित गर्ने भन्ने हो,’ उनले लेखेका छन् ।
रात्रिकालीन व्यवसायी संघले विज्ञप्ति जारी गर्दै सपुतलाई उक्त गीत हटाउन र नहटाए आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो । यो चेतावनीको पृष्ठभूमिमा गायक सपुतले प्रष्टीकरणसहित माफी मागेका हुन् । गितले रिलिज भएको एक हप्तामै करोडभन्दा बढी भ्युज पाएको थियो ।
