Tuesday, June 9News That Matters

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव पक्षद्धारा थप आन्दोलन घोषणा

पूर्णपुष्टि,फागुन २

प्रतिनिधिसभा विघटनविरुद्ध नेपालको प्रचण्ड–माधव पक्षद्धारा थप आन्दोलन घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर चौथो  चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । प्रचण्ड माधव समुहले फागुन ५ देखि २१ गतेसम्मका लागि विभिन्न कार्याक्रमहरु सार्वजनिक गरेको छ ।

जसअनुसार २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीयविरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने भएको छ । त्यस्तै  २०७७ फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम सम्पन्न गर्ने भएको छ ।

२०७७ फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रम गर्ने, २०७७ फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन फागुन ८ गते काठमाडौंमा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम, फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम रहेको छ

त्यस्तै फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध, फागुन ११ गते मधेशी, आदिवासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रम हुने भएकोे छ ।

साथै फागुन १२ गते चितवन, फागुन २१ गते दाङ्ग र जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन, सभा, संघीय राजधानी, प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवम् मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने भएको छ ।