
पूर्णपुष्टि, साउन २०
१ नम्बर प्रदेशमा ९४ दशमलव ६५ प्रतिशत धान रोपाइँ सकिएको छ । १४ जिल्ला रहेको प्रदेश १ मा कुल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा धानखेती लगाउने गरिएको छ । जसमध्ये तीन लाख २२ हजार ५९७ हेक्टर जग्गामा रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । विराटनगरका अनुसार गत वर्षमा यस अवधिमा ९३ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो ।
निर्देशनालयबाट प्राप्त जानकारीअनुसार तराईका तीन जिल्ला सुनसरीमा ५३ हजार ९०० हेक्टर, मोरङमा ८१ हजार ६३४ हेक्टर र झापामा ८३ हजार १२५ हेक्टर जग्गामा रोपाइँ सकिएको छ । यस्तै, उदयपुरमा १२ हजार ५७७ हेक्टर, ओखलढुंगामा चार हजार १८२ हेक्टर र खोटाङमा १२ हजार ३८२ हेक्टर जग्गामा रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।
मध्यपहाडी जिल्ला पाँचथरमा आठ हजार २८२ हेक्टर, इलाममा ११ हजार ८५२ हेक्टर, भोजपुरमा १६ हजार १०१ हेक्टर, तेह्रथुममा आठ हजार ९५४ हेक्टर र धनकुटामा ६ हजार ३६० हेक्टरमा धान रोपाइँ गरिएको छ ।
यसैगरी,उच्च पहाडी जिल्ला ताप्लेजुङमा आठ हजार ५६२ हेक्टर, संखुवासभामा १३ हजार १५८ हेक्टर र सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर जग्गामा रोपाइँ भएको जनाइएको छ ।
यस प्रदेशका तराईका तीन जिल्लामा दुई लाख १८ हजार ६५९ हेक्टर, मध्य पहाडका आठ जिल्लामा ८० हजार ६९२ हेक्टर, र उच्च पहाडका तीन जिल्लामा २३ हजार २४५ हेक्टर जग्गामा वर्षे धानबाली लगाइएको छ । यसरी तुलना गर्दा तराईमा ९७ प्रतिशत, मध्य पहाडमा ८८ दशमलव ७६ प्रतिशत र उच्च पहाडमा ९६ पतिशत रोपाइँ सकिएको निर्देशनालय विराटनगरले जनाएको छ ।
