Monday, June 29News That Matters

प्रदेश १ सरकारद्धारा सागका पदक विजेता ८८ खेलाडीलाई सम्मान

पूर्णपुष्टि, साउन १

१ न. प्रदेश सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई सम्मान गरेको छ । एकलतर्फ स्वर्ण पदक विजेता ६ जना, रजत पदक विजेता ४ जना र कास्य पदक विजेता १० जना खेलाडीलाई सम्मान गरिएको हो ।

यस्तै टीमतर्फ स्वर्ण पदक विजेता १५ जना, रजत पदक विजेता २२ जना र कास्य पदक विजेता ४१ जना गरी ८८ खेलाडीलाई मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले सम्मान गर्नुभएको थियोे ।

प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको मुख्यमन्त्री राईले बताउनुभयो । उहाँले प्रदेश सरकारले खेलकुदलाई छायामा नपारिने बताउनुभयो ।

खेलका माध्यमबाट जीविकासँगै पहिचान र प्रतिष्ठा कमाउन सकिने सामाजिक विकास मन्त्री घिमिरेले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणका कारण निर्धारित समयमा सम्मान गर्न नपाएको उहाँले बताउनुभयो । ढिलै भए पनि प्रदेश सरकारले सम्मान गरेको र आगामी दिनमा पनि खेलाडी सम्मानलाई निरन्तरता दिइने बताउनुभयो ।

सागमा एकल र टीमतर्फ स्वर्ण पदक विजेतालाई १ लाख देखि ७५ हजार ५ सयसम्म, एकल र टीमतर्फ रजत विजेतालाई १ लाखदेखि ६० हजारसम्म र एकल र टीमतर्फ कास्य पदक विजेतालाई ५० देखि ४१ हजार रुपैयाँसम्म प्रदान गरिएको सामाजिक विकास मन्त्रालय खेलकुद महाशाले जनाएको छ ।

१० जना खेलाडीले दोहोरिएर पदक प्राप्त गरेको जनाईएको छ । खेलाडीको बैंक खातामा प्रदेश सरकारले ८० लाख रुपैयाँ जम्मा गरेको छ । प्रदेश सरकारले साग विजेता खेलाडीलाई सम्मानित गरेकोमा आफूहरु खुशी भएको खेलाडीहरुले बताएका छन् । पैसा भन्दा पनि राष्ट्रका लागि खेल्नुपर्ने खेलाडीहरुको भनाई छ ।