Tuesday, April 21News That Matters

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति राजावादी समूहको आपत्ति

पूर्णपुष्टि, बैशाख १२ । राजावादी समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार गरेको अभिव्यक्तिलाई आपत्तिजनक र उत्तेजक भन्दै कडा आपत्ति जनाएको छ ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सोमबार जारी गरेको प्रेस वक्तव्यमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई गैरजिम्मेवार र संविधान तथा लोकतन्त्रको मर्म विपरीत भएको आरोप लगाएका छन् । आइतबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई जेठ १५ गते काठमाडौंलाई पार्टीको नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।

सुवेदीका अनुसार प्रधानमन्त्रीको जिम्मेवारी शान्ति, संविधानको पालना र जनताको सुरक्षामा केन्द्रित हुनुपर्नेमा उल्टो द्वन्द्व भड्काउने खालको भाषा प्रयोग गर्नु आश्चर्यजनक र आपत्तिजनक छ । उनले प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिलाई संविधानप्रदत्त अधिकारको दुरुपयोग मानेको बताए ।

राजावादी समूहले संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै आगामी जेठ १५ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको छ । वक्तव्यमा उल्लेख छ कि आन्दोलन भ्रष्ट व्यवस्था र शासकविरुद्ध हुनेछ र यसको स्वरूप भद्र अवज्ञा र सत्याग्रहमा आधारित हुनेछ । आगामी जेठ १५ गते काठमाडौंमा दुवै पक्षका कार्यक्रम हुने भएकाले सुरक्षा चुनौती बढ्ने अनुमान गरिएको छ ।